‘टेस्टेड’ बराल भर्सेज वैरागीः जसरी पनि जित्ने रणनीतिमा एमाले

कास्की | कात्तिक १३, २०७९

‘टेस्टेड’ बराल भर्सेज वैरागीः जसरी पनि जित्ने रणनीतिमा एमाले

कास्कीः पौडेल थरका दामोदर वैरागीलाई नेकपा एमालेले गठबन्धनको चुनौती चिर्न सक्षम ठानेर पार्टीले कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको टिकट दिएको छ । एमालेको हिसाबकिताबमा वैरागीसँग गठबन्धनको जोड घटाउ बिगार्न सक्ने ताकत छ । सोही ताकतले उनलाई नेकपा माओवादी केन्द्रको भागमा परेको गठबन्धनको साझा उम्मेदवार रामजीप्रसाद बराललाई हराउनु पर्ने जिम्मेवारी छ । 

 

बराल प्रदेशका अर्थमन्त्री हुन् । उनले माओवादीबाट धेरै पटक अवसर पाइसकेका छन् । यता बराल भने नोटिस हुने गरेर केन्द्रीय सिनारियोमा आउँन बल्ल मौका पाउँदै छन् । बराल ‘टेस्टेड’ हुन् । अझ एमालेकै भोटबाट सत्ताको चास्नी चाखिसकेका बराल ‘भाग्यमानी’ सावित भएका छन् । 

 

यसअघि बराल एमालेकै भोटबाट प्रदेसभा (क)बाट निर्वाचित भएका हुन् । पछि पार्टी फुटेपछि उनले प्रदेश मन्त्रीमण्डलमा अर्थमन्त्रीको भूमिकामा रहे । मन्त्री हुँदा अंश र यातायात करमा अत्यधिक वृद्धि गरेपछि उनी अलोकप्रिय भए ।  

 

बरालको साथमा हिजो एमालेको भोट थियो त आज नेपाली कांग्रेससहितका पार्टीको छ । जनाधार कम भएपनि घुमिघुमी सत्तामा पुग्न बराललाई दाउ लागिरहेको छ तर उनको दाउलाई माथ दिने ‘तुरुप’ लिएर वैरागी चुनावी खालमा छन् । 

 

कास्की प्रतिनिधिसभामा सबैभन्दा ‘टफ’ क्षेत्र हो ३ नम्बर । दुबैलाई जित्नुपर्ने दबाब छ । यही मेसोमा विश्लेषण गर्दै स्थानीय राजु क्षेत्री भन्छन् ‘एमालेलाई जसरी पनि जित्नु छ, केपी ओलीको प्रतिष्ठा जोडिएको क्षेत्र हो ३ नम्बर ।’

 

माओवादी द्वन्द्वका दौरान पक्राउ परी धादिङको गजुरी ब्यारेकमा राखिएका क्षेत्री त्यहाँबाट फरार हुन सफल भएपछि ‘जेल ब्रेकर’का नामले पनि चिनिन्छन् । उनै क्षेत्रीका अनुसार पहिलेको चुनावमा कम्युनिष्टहरु जसरी चुनाव प्रचारमा लागेका थिए, त्यस्तो अहिले यस क्षेत्रमा देखिएको छैन । 

 

‘गठबन्धनका कार्यकर्ताहरुमा सामुहिक भावना देखिएन’ क्षेत्री भन्छन् ‘कांग्रेस केही निष्क्रिय देखिएको छ भने समाजवादीको पुरा ध्यान कास्की – २ मा देखिएको छ ।’ स्वयं माओवादीमा पनि उर्जा नरहेको उनको ठम्याई छ । 

 

पुराना कार्यकर्ताहरु निराश रहेको र नयाँहरुको चुरिफुरी बढेकाले पनि हाल माओवादीको उर्जा नरहेको उनले टिप्पणी गरे । यद्यपि, एमालेका वैरागीको तुलनामा बराल जनताको नेता रहेको उनले प्रष्ट्याए । 

 

‘वैरागी पार्टीका नेता हुन् भने बराल द्वन्द्वको समयमा पनि जिल्दा नछाडी सक्रिय भए’ क्षेत्री भन्छन् ‘वैरागी जनस्तरमा भिज्न सकेका छैनन्, तैपनि दुइबीच ५०–५० को अवस्था छ ।’ 

 

यता, एमालेको निर्वाचन प्रचार सम्हालेका स्थानीय नेताका अनुसार ५ हजारले जित्ने अनुमान छ । उनले भने, ‘अन्नपूर्णमा कांग्रेसहरु बराललाई भोट दिने पक्षमा छैनन् भने माओवादीको मतदाता पहिलेभन्दा अहिले कम छन् ।’

 

त्यस्तै, नेकपा एकीकृत समाजवादीका कास्की सचिव होम बहादुर नेपाली एमालेमै फर्किएपछि ३ नम्बरमा समाजवादीको अवस्था नाजुक भएको छ । ‘एसको गाउँ कमिटी छ तर नाममात्रको’ उनले बताए । उक्त निष्क्रिय कमिटी पनि एमालेमै आउने उनको आंकलन छ ।  

 

गठबन्धनका साझा उम्मेदवारका विरुद्ध यतिबेला एमाले र अन्य शक्तिहरु बरालको यौन काण्ड र अलोकप्रिय करबारे गोप्यरुपमा प्रचार गरिरहेको पाइएको छ । यसअघि उनै जेल ब्रेकर क्षेत्रीले पनि सामाजिक सञ्जालमा बरालको यौन काण्डबारे छताछुल्ल पारेका थिए । त्यसपछि सोही काण्डलाई एमाले वृत्तबाट फैलाउने कामसमेत भइरहेको छ । 

 

०७४ सालको निर्वाचनमा नेकपा एमालेका जगतबहादुर विश्वकर्माले नेपाली कांग्रेसका शुक्रराज शर्मालाई पराजित गरेका थिए । त्यसबेला ३२ हजार ६९० मतले विश्वकर्माले जित्दा शर्माले २४ हजार ३०४ मत ल्याएका थिए । करिब ८ हजार ३ सय मतान्तर रहेको आंकडालाई विश्लेषण गर्दै एमालेका वैरागी अहिले ५ हजारको मतान्तरले चुनाव जित्ने योजनामा छन् । 

 

चुनावी रणनीति र प्रचार खर्चमा पार्टीको एकद्वार प्रणाली सक्रिय रहेकाले वैरागी हौसिएका छन् । यसको विपरित बराल र गठबन्धनले चुनावी खर्च कसले, कसरी गर्ने भन्नेमा अझै अन्यौल छ । ०७४ मा कांग्रेसका शर्माले जसरी चुनावी प्रचार गरेका थिए अहिले त्यस्तो छैन । यसको विपरित एमालेले प्रचार र खर्चमा कुनै कसर बाँकी नराख्ने क्षेत्रीको ठम्याइँ छ । 

 

यसैगरी, सहिद परिवारबाट ‘बागी’ उठेकी अनिता भुर्तेलले पनि बराललाई अप्ठेरो पारेकी छिन् । भुर्तेललाई नातागोता र सहानुभुतिको मत आउने छ । भुर्तेलप्रति उदार रहेका क्षेत्रीका अनुसार उनले करिब १२ सयको हाराहारीमा मत ल्याउने छिन् ।

 

हालैको स्थानीय तह निर्वाचनमा एमालेका अध्यक्षहरुले कूल २८ हजार ४३७ मत पाएका थिए । गठबन्धनले ३१ हजार ७०५ मत प्राप्त गरे । जसमध्ये माओवादीको २ हजार १६५ मत थियो भने समाजवादीको ७ सय ६ मत रहेको छ । यस आधारमा गठबन्धनका बरालको जित्ने सम्भावना देखिन्छ । 

 

तर प्रचारप्रसार र कार्यकर्ता खटाइलाई मध्यनजर गर्दा भने एमालेको भन्दा गठबन्धनको सक्रियता कम छ । तैपनि, युद्धस्तरमा खटेको एमाले भने कुनैपनि हिसाबले चुनाव जितेरै छाड्ने रणनीतिमा लागेको छ । 

 

कास्की ३ मा महानगरका ११ वडा र अन्नपूर्ण एवं माछापुच्छ्रे गाउँपालिका रहेका छन् । 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्